समाज

काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘बीआईटी’ तैनाथ

By admin

July 27, 2026

झापा । सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आइतबारदेखि झापाको काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीले ‘बोर्डर इन्टरयाक्सन टिम’ (बीआईटी) परिचालन गरेको छ ।

 

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वाटर काँकरभिट्टाका अनुसार सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा पाँच महिलासहित १४ जना सादा पोशाकमा बीआईटी परिचालित भएका हुन् ।

 

जसमा दुईजना सशस्त्र प्रहरी नायव निरीक्षक, एकजना सशस्त्र प्रहरी सहायक निरीक्षक, एकजना वरिष्ठ हवल्दार, एकजना हवल्दार, तीनजना सहायक हवल्दार र बाँकी जवान रहेका छन् । बीआईटीमा सशस्त्र प्रहरीकै जनशक्ति रहने र उनीहरू बर्दीमा नभई सादा पोशाकमा खटिएका छन् ।

 

सीमा पार गर्ने सर्वसाधारण विशेषगरी महिला तथा बालबालिका र बृद्धबृद्धालाई आवागमनमा सहयोग गर्ने, शंकास्पद व्यक्तिहरुको निगरानी, सीमा नाकाबाट हुने मानव बेचबिखन रोक्ने तथा उद्धार गर्ने, जाली नोट, लागूऔषध तथा प्रतिवन्धित सामाग्री ओसारपसार जस्ता अपराध नियन्त्रण गर्ने बीआईटीको कर्तव्यभित्र पर्दछ ।