समाज

इलामको राजदुवाली सडक खण्ड तीन सातादेखि अवरूद्ध

By admin

July 28, 2026

इलाम । तीन सातादेखि अवरुद्ध मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । माइखोला माथिपट्टिको भागमा जमिन नै बग्ने र सडक भासिने समस्या नरोकिएपछि अहिले यातायात पूर्णरुपमा बन्द गरेर मर्मतको काम भइरहेको छ ।

 

माइखोलामा काम भइरहेको स्थानभन्दा माथि पनि पहिरो गएर राजमार्ग नै चुट्टिएको अवस्था छ । अहिले खोलाबाटै कंक्रिट वाल उठाउने काम भइरहेको र अब चार मिटर जति वालको काम बाँकी रहेको सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए ।

 

‘अब साता दिनभित्र वालको सबै काम सकिन्छ । त्यसपछि माटो फिलिङ गरेर साना सवारी सञ्चालनमा ल्याउने लक्ष्यले काम भइरहेको छ,’ घिमिरेले भने ।

 

यसैगरी, राजमार्गको माइखोला खण्डको विकल्पमा रहेको केचना-कञ्चनजंघा सडकअन्तर्गत बेलासे-भञ्ज्याङ सडकको काम सोमबारदेखि सुरु भएको छ । गएको असोज १८ गतेको बाढी पहिरोपछि यो सडक खण्डको काम धेरै नै सुस्त भएको थियो ।