झापा । सिरहाको गोलबजारमा गोली लागेर एक जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गमा आज टायर बालेर सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका सिरहाको औरही गाउँपालिकाका १५ वर्षीय गणेश यादवको ज्यान गएको बताइएको छ ।
‘गोली लागेर यादवको ज्यान गएको जानकारी प्राप्त भएको छ तर कसले चलाएको गोलीबाट ज्यान गएको हो भने खुल्न सकेको छैन, सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, ’यसबारे अनुसन्धान भइरहेको छ ।
यसैबीच, गत आइतबार सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा प्रहरीको गोली लागेर घाइते भएका २७ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको छ । विराटनगर न्युरो अस्पतालमा उपचारका क्रममा मेहताको मृत्यु भएको हो ।
उपचारकै क्रममा बिहीबार दिउँसो मेहताको मृत्यु भएको अस्पताल प्रशासनका भारत श्रेष्ठले जानकारी दिए । अस्पतालमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जयप्रकाशको पेटमा गोली लागेको थियो । गत सोमबार उनको शल्यक्रिया गरिए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको शव हाल न्युरो अस्पतालमै राखिएको छ।