फुङलिङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई महिनादेखि नियमित हवाई सेवा ठप्प भएको छ । नेपाल वायु सेवा निगमको जहाजले गत जेठ २२ गते अन्तिम उडान गरेयता यात्रु अभाव र प्रतिकूल मौसमका कारण उडान ठप्प भएको हो ।
निगमले सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार नियमित उडान तालिका निर्धारण गरे पनि तालिकानुसार सेवा सञ्चालन हुन नसकेको सुकेटार स्टेसनका इन्चार्ज नारायण कार्कीले जानकारी दिए । उनकाअनुसार पछिल्ला दिनमा कहिले मौसम प्रतिकूल बनेको छ भने कहिले पर्याप्त यात्रु नपुग्दा उडान रद्द हुँदै आएको छ ।
साउन १५ गते शुक्रबार पनि उडान गर्ने तयारी गरिए पनि दुवैतर्फबाट आवश्यक यात्रु सङ्ख्या नपुगेकाले अनिश्चितता कायमै रहेको छ । ताप्लेजुङबाट तीन जना यात्रुले टिकट लिएका भए पनि काठमाडौँबाट एक जना पनि यात्रु नभएको कार्कीले बताए । उडान सञ्चालनका लागि काठमाडौँ र ताप्लेजुङ दुवैतर्फ कम्तीमा पाँच-पाँच जना यात्रु आवश्यक पर्ने व्यवस्था छ ।