झापा। इलाममा खोलाले बगाएर छोराको मृत्यु भएको खबर पाएपछि आमाले आत्महत्या गरेकी छन् । इलामको माइजोगमाई गाउँपालिका–२ खोल्मेमा त्यस्तो हृदयविदारक घटना भएको हो ।
छोरा ११ वर्षीय आहान खत्रीको खोलाले बगाएर मृत्यु भएपछि शोक सहन नसकेर विक्षिप्त बनेकी आमा ३५ वर्षीया अमृता लेप्चा खत्रीले झुन्डिएर आत्महत्या गरेकी हुन् ।
गुल्मी जिल्ला स्थाई घर भई विगत ९ वर्षदेखि माइती घर इलाम माईजोगमाई २ खोल्मेमा अमृता लेप्चा खत्री र छोरा आहान खत्री बसोबास गर्दै आएका थिए । हिजो दिउँसो आहान खत्री विद्यालयबाट घर फर्कने क्रममा त्यही रहेको बजुर खोलामा आएको बाढीले उनलाई बगाएको थियो ।
खोलामा बालक आहान मृत अवस्थामा भेटिएको स्थानीयले जिल्ला प्रहरी कार्यालय इलाममा जानकारी गराएका थिए । प्रहरी टोली खटिएर राति ९ः४५ बजे घटनास्थलमा पुगेर स्थानीयको सहयोगमा शव खोलाबाट निकालेको थियो । त्यसलगत्तै बालककी आमा अमृता सम्पर्कविहीन भएकी थिइन्।
स्थानीयबासीका अनुसार रातभर खोजी गर्दा उनी फेला परेकी थिइनन्। आज बिहान आफ्नै घरदेखि अन्दाजी सय मिटर पश्चिमतर्फ निवराको रुखको हाँगामा झुण्डिएको अवस्थामा अमृता फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
स्थानीयका अनुसार अमृता माइतमा बसेर छोरालाई पढाउँदै आएकी थिइन्। उनका श्रीमान अनिल खत्री वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन् ।