बिर्तामोड । झापामा कोशी प्रदेशकै सर्वाधिक राशिको शरीरिक सुगठन (बडीबिल्डिङ) प्रतियोगिता हुने भएको छ । जसमा महिलातर्फ पहिलोपटक प्रतियोगिता हुन लागेको आयोजकले दाबी गरेको छ ।
बिर्तामोडको बढी ग्यारेजले आयोजना गर्द आएको मिस्टर कञ्चनजंघा बडीबिल्डिङ प्रतियोगिताको तेस्रो संस्करणमा पुरुषसँगै महिला खेलाडीलाई समेटिएको आयोजकले जनाएको छ । प्रतियोगिता आगामी असोज २० र २१ गते बिर्तामोडमा हुने भएको हो ।
बिर्तामोडमा आज (शनिवार) आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक राम दाहालले पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूहका खेलाडीहरू सहभागी हुने जानकारी दिए । उनका अनुसार महिलातर्फ भने खुला प्रतिस्पर्धा हुनेछ ।
पुरुषतर्फको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसअघि अघिल्लो संस्करणमा विजेताको पुरस्कार नगद ३ लाख ११ हजार १११ रुपैयाँ थियो । यो राशि प्रदेशमा सर्वाधिक राशि रहेको छ ।
यसैगरी, दोस्रो हुनेले नगद तीन लाख, तेस्रो हुनेले दुई लाख, चौथो हुनेले एक लाख रुपैयाँ पाउनेछन् । पाँचौं हुनेले नगद ७५ हजार र छैटौं हुनेले नगद ५० हजार पाउने सचिव हिमाल खरेलले बताए ।
यसैगरी कोशी प्रदेशमा पहिलोपटक हुन लागेको महिला प्रतिस्पर्धाका प्रथम हुने खेलाडीलाई नगद ७५ हजार, दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
हरेक तौल समूहका दोस्रो हुने खेलाडीले नगद सात हजार र तेस्रो हुने खेलाडीले नगद पाँच हजार रुपैयाँ पाउनेछन् । बाँकी तीन जनालाई ट्रफी र मेडल प्रदान गरिने अध्यक्ष पदम श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा देशभरबाट दुई सय जना खेलाडीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित ३५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । दोस्रो संस्करणको उपाधि गाइघाटका दिलिपकुमार चौधरीले जितेका थिए ।