दमक । प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित इलाम चुलाचुली गाउँपालिकाका तीन जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार मंगलबार साँझ करिब ५ः२० बजे लागूऔषध बिक्री–वितरण भइरहेको गोप्य सूचनाका आधारमा खटिएको सादा पोशाकको टोलीले कमल गाउँपालिका–५ स्थित चोलुङ टोल विकास संस्था, टुक्रे बजारमा सवारीसाधन जाँच गरेको थियो।
सो क्रममा इलामको पेल्टीमारीबाट कमलहुँदै दमकतर्फ आउँदै गरेको मे ११ प ८१७७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा तीन जना शंकास्पद अवस्थामा भेटिएका थिए।
प्रहरीले खानतलासी गर्दा मोटरसाइकलमा सवार चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका २४ वर्षीय निराज तामाङले लगाएको जिन्स पाइन्टको अगाडिको दाहिने गोजीमा बिक्री–वितरणका लागि छुट्टाछुट्टै पोका पारेर राखिएको ब्राउनसुगर फेला परेको थियो ।
उक्त लागूऔषध प्लाष्टिकसहित १७ ग्राम ९६० मिलिग्राम र प्लाष्टिकबाहेक ११ ग्राम १५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। घटनामा प्रहरीले तामाङसँगै सोही स्थानका २० वर्षीय दिवान आङथुपो र ३१ वर्षीय कमल तामाङलाई समेत नियन्त्रणमा लिएको छ।
प्रहरीले लागूऔषधसँगै डिजिटल तराजु एक थान, विभिन्न दरका नेपाली रुपैयाँ १८ हजार ५ सय र मे ११ प ८१७७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।