समाज

झापामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

By admin

August 21, 2026

झापा । वर्षायाम शुरु भएयता फैलिदै गएको जापानिज इन्सेफ्लाइटिस (जेई)बाट झापामा थप एकजनाको मृत्यु भएको छ ।

 

गतसाता मेचीनगर ८ की ६४ वर्षीया महिलाको जेईबाट मृत्यु भएसँगै जिल्लामा जेईबाट मृत्यु हुनेहरुको संख्या ६ र संक्रमितहरुको संख्या ११ पुगेको छ । मृत्यु हुनेहरुमा चार महिला र दुई पुरुष छन् ।

 

हालसम्म मेचीनगरमा दुई तथा हल्दिवारी, बाह्रदशी, बिर्तामोड र अर्जुनधारामा एक–एक जनाको मृत्यु भएको हो । मेचीनगरका ५, हल्दिवारीका १, बाह्रदशीका १ , कचनकवलका १ , बिर्तामोडका २ र अर्जुनधाराका १ जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण देखा परेको हो ।

 

त्यसमध्ये ६ जनाको मृत्यु भइसकेको, दुईजना उपचारमा रहेको र तीनजना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरु अधिकांश ५० वर्षभन्दा माथिका छन् । संक्रमितमा एकजना बालक ७ महिनाका र एकजना ४० वर्ष उमेरको रहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए ।