राजनीति

उज्ज्वलको रातो घरदेखि धरानका भीरपखेरा…

By admin

August 22, 2026

‎ – उदय मेन्याङ्वो लिम्बू

‎भूकम्पले अस्तव्यस्त भएको देशलाई आबुधाबीबाट नियाल्दै बसेको केही दिनमात्र भएको थियो। सामाजिक सञ्जालमा ‘विवेकशील नेपाली’ले गरेका कामको प्रशंसा पनि बढ्दै थियो। भूकम्प र भारतको अघोषित नाकाबन्दीले देश शिथिल भएको समयमा पनि पुकार बम र मिलन पाण्डेको लेख ‘नयाँ हैन पृथक शक्ति’ ले परम्परागत राजनीतिभन्दा वैकल्पिक राजनीतिप्रति सकारात्मक हुन प्रेरित गर्‍यो।

 

‎काठमाडौँ झरेपछि बसपार्कदेखि चप्पल कारखानाको त्यो ‘रातो घर’ सम्मको यात्रामा निस्किएँ। खै के थियो मनमा, अहिले सम्झिँदा भित्तामा लेखिएका ‘२०० मिटरभित्र’ बाहेक अरू केही याद छैन। त्यही संकेत पछ्याउँदै म विवेकशील नेपालीको कार्यालय पुगेको थिएँ। ‎त्यो रातो घर मेरो लागि केवल कुनै राजनीतिक दलको केन्द्रीय कार्यालयमात्र थिएन। त्यो मेरो राजनीतिक चेतनामा नयाँ ढोका खोलिएको ठाउँ थियो। राज्यसँग प्रश्न गर्नसक्ने हिम्मत दिने ठाउँ थियो। गलतलाई गलत भन्न सक्ने बानी बसाल्ने एउटा पाठशाला थियो। त्यहाँबाट निस्कँदा राजनीतिलाई हेर्ने मेरो दृष्टिकोण पहिलेको जस्तो रहेन।

 

‎‘युवा अघि बढ्छ, देश अघि सर्छ’ भन्ने नारा मनमा गढेर बसेको थियो। कार्यालयमा भेटिएका नेतृत्वमा राष्ट्रप्रतिको इमानदारी देख्दा ‘अब देशमा केही हुन्छ, आफैँले केही गर्नुपर्छ’ भन्ने सङ्कल्प पनि गरिसकेको थिएँ । ‘हामीले नगरे कसले गर्ने ?’ भन्ने प्रश्नले घोचिरहेको मेरो मनले अन्ततः एउटा उत्तर पायो ! केही गर्न नसके पनि साथ दिन त सकिन्छ नि । त्यसपछि मैले विवेकशील नेपालीको सदस्यता लिए ।

 

रवीन्द्र मिश्रले बीबीसीबाट राजीनामा दिई राजनीतिमा सक्रिय भएर साझा पार्टी गठन भएपछि वैकल्पिक राजनीतिको चर्चा बढ्दै गयो। काठमाडौँ महानगरको चुनावले त्यसलाई झन् शिखरमा पुर्‍यायो। साझा र विवेकशील एक भएपछि आफ्नै पालामा परिवर्तन सम्भव छ भन्ने आत्मविश्वास बढेको थियो।

 

‎दुर्भाग्यवश, पछि विवेकशील र साझा एकआपसमा मिल्न र नीतिगत सहमति कायम राख्न सकेनन्। आन्तरिक कलह र रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ ले वैकल्पिक राजनीतिले आम जनतामा जागेका विश्वासलाई गम्भीर धक्का लाग्यो ।​ वैकल्पिक राजनीतिको त्यो आधार भत्किँदा मजस्ता हजारौँ शुभचिन्तकहरूमा निराशा उत्पन्न हुनु स्वाभाविकै थियो। ‎

तर, २०७९ को स्थानीय निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ महानगरमा बालेन शाहको उम्मेदवारीले फेरि एकपटक आशाको नयाँ किरण जगायो। बालेनको उम्मेदवारीको चर्चा व्यापक हुँदै गर्दा, देशको पूर्व धरानमा भने एकजना मान्छे चुपचाप आफ्नो अभियानमा थिए, उनी हुन् हर्क साम्पाङ । हातमा माइक बोकेर, कहिले पैदल हिँड्दै त कहिले चोक–चोकमा केही मानिस भेला पारेर उनी भोट मागिरहेका थिए। सुरुवाती दिनमा उनको अभियान धरानमै सीमित थियो। धरान बाहिर हामीले उनलाई खासै चिन्न पाएका थिएनौँ। न ठुला फेसबुक पेजहरूले उनलाई गम्भीररूपमा हेरे, न मुलधारका सञ्चारमाध्यमले, तर पनि स्थानीय चुनावको ऐतिहासिक विजय हासिल गरेपछि उनको चर्चा राष्ट्रियस्तरमै चुलियो। ​

 

‎कार्यभार सम्हालेपछि हर्क साम्पाङले सुरु गरेको श्रमदान अभियानलाई भने मैले अलि फरक ढङ्गबाट नियाल्न खोजिरहेको थिएँ। मैले हर्कको श्रमदान अभियानलाई भौतिक उपलब्धिभन्दा फरक कोणबाट हेर्न थालेँ। मेरो चासो थियो, श्रमदानले नागरिकमा सहभागिता र नागरिक दायित्वको भावना कति जगाइरहेको छ ? ‎

‎वैकल्पिक राजनीतिको बिजारोपण गर्ने उज्ज्वल थापाको ‘शान्त विद्रोह’ ले सहरिया युवा र सामाजिक सञ्जालमा सक्रिय नागरिकलाई राज्यसँग प्रश्न गर्न सिकायो। जिम्मेवार र सचेत नागरिक बन्न उनले देखाएको बाटो सरल तर प्रभावकारी थियो। यता हर्क साम्पाङको अभियानले ठूला राजनीतिक मुद्दाभन्दा बाहिर रहेर भूइँतहका नागरिकलाई श्रम र सहभागितासँग जोड्यो। ‎

‎उज्ज्वल र हर्कका बाटा फरक भए पनि नागरिकलाई परिवर्तनको प्रक्रियामा जोड्ने चाहनामा केही समानता देखिन्छ । काठमाडौँको त्यो ‘रातो घर’ देखि धरानको ‘भीरपहरा’ सम्म आइपुग्दा, म भने मनभित्रैबाट हर्क साम्पाङको त्यो आक्रामक श्रम क्रान्तिमा उज्ज्वल थापाको त्यही शालीन र सुसंस्कृत सपनाको अंश खोज्न थालिसकेको थिएँ। ‎

‎​जेन्जी आन्दोलनपछि २०८२ निर्वाचनको परिणामले प्रत्यक्षमा ३ सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ४ सिट ल्याउदै राष्ट्रिय राजनीतिमा हर्क साम्पाङ्गलाई बलियोसँग स्थापित गरिदियो । यो राजनीतिक विस्तार केवल निर्वाचनको मतमा मात्र देखिँदैन। श्रमदान अभियानमा परम्परागत राजनीतिबाट टाढा रहेका प्रायः भूइँ मान्छेहरुको सहभागिता देखिन्छ, जो हप्ताभरि काम गर्छन् र विदाको दिन शनिबार श्रमदान गर्न निस्कन्छन्। ‘हामीले नगरे कसले गर्ने ?’ कुनै समय मेरो मनमा घोचेको यही प्रश्नको सामूहिक उत्तरजस्तै लाग्छ यो श्रमदान । ‎

‎​उनीहरूको कार्यशैली प्रविधिमैत्री छ। मेसेन्जर र ह्वाट्सएपमा साना समूहहरू बनाइएका छन्। ‘शनिबार कहाँ श्रमदान गर्ने?’ समूहमा एउटा सन्देश आउँछ, त्यति भएकै भरमा बिहानै सबैजना कुटो–कोदालो बोकेर एकैठाउँमा भेला हुन्छन् र योजनाअनुसार काममा जुट्छन्। सामाजिक सञ्जालमार्फत समन्वय गर्दै उनीहरू घर निर्माण, खानेपानी, बाटोघाटो तथा अन्य सामुदायिक काममा जुटिरहेका छन्। धरानका मेयर हुँदा धरानमा मात्र सीमित श्रमदान अभियान आज पूर्वका झापा, मोरङ, इलाम जस्ता जिल्लामा प्रभावकारीरुपमा फैलिएको छ । यसले श्रम संस्कृति पार्टीको प्रभाव धरान बाहिर पनि बिस्तार हुँदै गएको देखिन्छ । ‎

 

‎​यद्यपि, हर्क साम्पाङको अभियान आलोचनामुक्त भने छैन। श्रमदाता निःस्वार्थ रूपमा सहभागी भए पनि सरकारले गर्नुपर्ने दायित्व नागरिकमाथि सार्ने अभ्यासका रूपमा देखिएको भन्ने आरोप उनीमाथि छ। उनको बोल्ने शैली र सामाजिक सञ्जालमा व्यक्त विचारले उनलाई विवादित नेताका रूपमा चिनाएको छ। सञ्जालमा सक्रिय हर्कले त्यहीँबाट पार्टीका निर्णय सार्वजनिक गर्दा कतिपय निर्णय संस्थागतभन्दा व्यक्तिगतजस्ता देखिन्छन्। यसले सिंगो पार्टीमा व्यक्ति हाबी भएको हो कि भन्ने संशय पनि पैदा गर्छ।

 

‎​हर्क साम्पाङप्रति यो लेख समर्पित गर्दै गर्दा पनि मलाई डर लागिरहेको छ । कतै यही प्रवृत्ति हाबी हुँदै जाने हो भने ती समर्थकहरूले गरेको विश्वासमाथि घात त हुने होइन? किनकि कुनै एक व्यक्तिको निर्णयमा केन्द्रित अभियान र आन्दोलनको भविष्य दीर्घकालीनरूपमा घातक त हुँदैन ? मानिस सधैँ लोकप्रिय रहँदैन । लोकप्रियता केही समय टिकाउन सकिएला तर त्यसलाई संस्थागत शक्तिमा रूपान्तरण गर्न निकै कठिन हुन्छ। त्यसैले हर्कको राजनीतिक यात्राको वास्तविक परीक्षा उनको लोकप्रियतामा होइन, उनले निर्माण गर्ने संस्थाको क्षमतामा हुनेछ। ‎

 

‎​हर्क साम्पाङले हजारौँ राजनीतिकरूपमा निष्क्रिय नागरिकलाई श्रम र सेवामार्फत सकृय बनाउन सक्नु उनको प्रमुख उपलब्धि मान्न सकिन्छ । यदि यो ऊर्जा व्यक्ति केन्द्रित नभई संस्थागत संस्कृतिमा रूपान्तरण हुन सकेन भने यसको प्रभाव सीमित हुन सक्छ। संस्थागत शक्तिमा बदल्न नसक्दा एउटा प्रश्न पनि उब्जिएला ‘हर्क पछि के ?’

 

‎​उज्ज्वल थापाले छरेको सुसंस्कृत राजनीतिको बीउ र हर्क साम्पाङले भुइँ मान्छेमा जगाएको श्रम संस्कृतिको ऊर्जा एक ठाउँमा जोडिनसके मात्र रूपान्तरणको यात्रा अझ बलियो बन्न सक्छ। व्यक्तिभन्दा माथि उठेर नागरिक सहभागिता, पारदर्शिता र संस्थागत अभ्यासलाई प्राथमिकता दिन सकियो भने मात्र ‘रातो घर’ को सपना र ‘श्रम क्रान्ति’ को बाटोले सही गन्तव्य भेट्नेछ।

 

‎​उज्ज्वलले सडक र सदन दुवैमा विवेकशील नागरिकको उपस्थितिको कल्पना गरेका थिए। आज सदनमा उज्ज्वलकै सहयात्रीहरु छन् । देशका विभिन्न ठाउँमा देखिएका नागरिक सहभागिताका प्रयासहरूले त्यो सपना पूरा हुने दिशातर्फ अघि बढिरहेको सङ्केत गरेका छन्। अबको चुनौती भनेको यही ऊर्जालाई व्यक्ति होइन, संस्थामा रूपान्तरण गर्दै राजनीतिक संस्कार, जिम्मेवार नागरिक अनि हितकारी राज्य निर्माणको आधार बनाउनु हो ।