समाज

झापा गापाको वडा कार्यालयमा चोरी भएको चार घण्टामै चोर पक्राउ

By admin

August 22, 2026

कुमरखोद । झापा गाउँपालिका ५ स्थित वडा कार्यालयमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले घटना भएको चार घण्टा नबित्दै एक जनालाई पक्राउ गरेको छ।

 

प्रहरीका अनुसार झापा गाउँपालिका ५, पुरानो शरणामतीका २२ वर्षीय अर्जुनकुमार गणेशलाई चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरिएको हो। पक्राउ परेका गणेशले वडा कार्यालयबाट आफूले नै सामान चोरी गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार गणेशले चोरी गरेको ल्यापटप भारत लगेर बिक्री गरेको बयान दिएका छन्। बिक्री गरिएको ल्यापटप फिर्ता ल्याउन शरणामती प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तीर्थ भण्डारीको नेतृत्वमा प्रहरी टोली भारत गएको जनाइएको छ।

 

गएराति वडा कार्यालयको पछाडिपट्टिको झ्यालको सिसा फुटाएर ल्यापटप, दुई थान पेनड्राइभ, मोनिटर र स्क्यानर चोरी भएको थियो। चोरी गरिएका मोनिटर र स्क्यानर वडा कार्यालयबाट करिब २०० मिटर दक्षिणतर्फको घन्सीबारीमा छाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

 

वडाध्यक्ष कृष्णप्रसाद राजवंशीका अनुसार चोरी भएका अन्य सामानमध्ये पेनड्राइभलगायतका सामग्रीसमेत फेला परेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।