समाज

राजेश जवेगुको नेतृत्वमा अर्जुनधाराका लिम्बू समुदाय संगठित

By admin

August 23, 2026

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा रहेका लिम्बू समुदायहरु संगठित भएका छन् । एक भेलाबाट अर्जुनधारा ४ का युवा समाजसेवी राजेश जवेगुको अध्यक्षतामा किरात याक्थुङ चुम्लुङ अर्जुनधारा तदर्थ समिति गठन भएको छ ।

 

साविक अर्जुनधारा, शनिश्चरे र खुदुनाबारी गाविसलाई समावेश गरेर नगरपालिकाको संरचना तयार भएपछि छुट्टाछुट्टै रुपमा चुम्लुङको संगठन रहेका थिए ।

 

यसैबीच, चुम्लुङका जिल्ला सदस्य शैलेन्द्र कुरुम्बाङको उपस्थितिमा शनिबार भएको भेलाबाट सबै वडाबाट प्रतिनिधित्व हुनेगरी संगठन बनाइएको छ । जसको उपाध्यक्षमा ६ नम्बरका पूर्णबहादुर लिङदेन, सचिव विजेन्द्र ऐक्तेन वडा नम्बर १ र कोषाध्यक्षमा भुमा चोङवाङ वडा नम्बर ३ रहेका छन् ।

 

यसैगरी, सदस्यहरुमा देवीप्रसाद कन्दङवा वडा नम्बर २, ज्ञानेन्द्र नेम्वाङ वडा नम्बर ६, अनिता लावती वडा नम्बर ७, सुरेश जवेगु वडा नम्बर ८, पूर्णबहादुर नेम्वाङ लिम्बू वडा नम्बर ९, दुर्गा योङहाङ वडा नम्बर १० र टेकराज तिलिङ लिम्बू वडा नम्बर ११ रहेका छन् ।

 

भेलामा बोल्दै चुम्लुङका जिल्ला सदस्य कुरुम्बाङले समिति गठन केवल एउटा समितिको गठन नभएर आफ्नो पहिचानलाई संगठितरूपमा संरक्षण गर्ने एउटा नयाँ यात्राको सुरुवात भएको विश्वास लिएको बताए ।

 

अर्जुनधारा नगर तदर्थ समितिले आगामी दिनमा एकता, सहकार्य, पारदर्शिता र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै प्रभावकारी ढंगले अघि बढ्दै याक्थुङ समुदायको भाषा, लिपी, संस्कार, संस्कृति र मौलिक पहिचान भावी पुस्तासम्म अझ समृद्ध रूपमा हस्तान्तरण गर्न सफल होस् भन्ने शुभकामना उनले दिएका थिए ।

 

तदर्थ समितिको सल्लाहकारहरुमा तिलसिङ माङमु, खगेन्द्र लिङदेन, विजय सेन्दाङ, मोहन सुब्बा, शर्मिला सुब्बा र खगेन्द्र योङहाङ रहेका छन् ।