लीलाराज झापाली, बिर्तामोड । नेपालकै होचो समथल भूभाग कचनकवलमा पहिलोपटक मखना खेती सुरु भएको छ । कचनकवल समुन्द्र सतहदेखि मात्र ५८ मिटरको उचाइमा रहेको छ ।
स्थानीय कृषक साहिल सेख, कलिम अन्सारीलगायातका अगुवा कृषकहरुले कचनकवल ४ मा यसै वर्षबाट करिब दुई सय विगाह क्षेत्रमा व्यावसायिक मखनाको खेती सुरु गरेका हुन् ।
यो खेती नेपालमै पहिलोपटक गर्न लागिएको कृषक साहिल सेखको दाबी छ । आफूले यस वर्षमात्रै स्थानीय अन्य कृषकको १२२ विगाह जमिन भाडामा लिएर खेती सुरु गरेको सेखले बताउँछन् ।
भारतमा नगदेबालीका रुपमा लामो समयदेखि यो खेती गरिँदै आएको छ । यो खेतीका लागि निरन्तर जमेको पानी हुनुपर्ने र होचो भूभाग रहेको कचनकवलमा माटोको बनावट र होचो भूभागका कारण खेती गर्न सहज हुने अर्का कृषक कलिम अन्सारीले बताए ।
खेती सुरु गर्नका लागि प्रतिबिगाह एक लाखदेखि डेढ लाख जति खर्च हुने र एक बिगाह क्षेत्रमा लगाएको मखनाबाट १५ सय केजीसम्म उत्पादन हुने कृषकको दाबी छ । प्रशोधित मखना भारतमा प्रतिकेजी १५ सय भारतीय रुपैयाँमा बिक्री भइरहेको छ ।
नेपालमै समेत ठुलो मात्रामा यसको उत्पादन सुरु भएकोले भारतलगायत तेस्रो मुलुकमा समेत निर्यातको प्रबन्ध मिलाइदिन सरकार समक्ष कृषकको माग रहेको छ ।
हाल दैनिक १०० जना भारतीय तालिमप्राप्त मजदुरहरु मखना टिप्ने कामका लागि रोजगारीमा रहेकोे अगुवा कृषक साहिल सेखले बताए ।