राजनीति

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

By admin

August 24, 2026

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ५७ मत परेको छ ।

 

यो मत विश्वासको मतका लागि आवश्यक बहुमतभन्दा बढी हो । विपक्षमा २२ मत परेको छ भने ४ जना प्रदेशसभा सदस्य मतदानमा अनुपस्थित वा तटस्थ रहेका छन् ।

 

विश्वासको मतको पक्षमा सत्तारूढ नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यले मतदान गरेका हुन् । कोशी प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन् ।

 

मुख्यमन्त्री कार्कीको विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गरेका छन् । कांग्रेसका २९ सांसदमध्ये २२ जनाले विपक्षमा मतदान गरेका हुन् ।

 

राप्रपाका प्रदेशसभामा सभामुखसहित ५ सदस्य छन् । उनीहरूले मतदानमा भाग लिएनन् । तटस्थ बसे । जनता समाजवादी पार्टीकी एकमात्र प्रदेशसभा सदस्य निर्मला लिम्बू पनि बैठकमा उपस्थित भइनन् ।

 

कोशी प्रदेशसभामा कुल ९३ सदस्य रहेकामा एक जनाले राजीनामा दिएपछि हाल ९२ सदस्य छन् । सोमबारको बैठकमा ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए ।