खेलकुद

सातदोबाटोलाई रोक्दै सल्हेश ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

By admin

August 30, 2026

फुङलिङ । संघर्षपूर्ण जित निकाल्दै साविक विजेता सल्हेश युवा क्लब सिरहा यहाँ जारी चौथो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

भानुजन माविको मैदानमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा ललितपुरको सातदोबाटो युथ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै सल्हेशले अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।

 

सातदोबाटोले सुरुदेखि नै दबाब सिजर्ना गरे पनि पहिलो गोल सल्हेशको तर्फबाट भएको थियो । सल्हेशका लागि खेलको १८औँ मिनेटमा कप्तान प्रवेश दनुवारले गोल गर्दै अग्रता दिलाएका थिए ।

 

तर, गोलको खुसी साट्न नपाउँदै सातदोबाटोका कप्तान समिर तामाङले बराबरी गोल गरेर खेलमा फर्काएका थिए । यसअघि सल्हेशविरुद्ध सातदोबाटोले थुप्रै अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन भने सल्हेशका केही मुभ गोलकिपर विशाल सुनारले रोकेका थिए ।

 

खेलको निर्णयका लागि रोजिएको टाइब्रेकरमा सल्हेशले ४-३ गोलअन्तरले सातदोबाटोलाई पराजित गरेको हो । जसमा सातदोबाटो सिल्ला, श्याम मुर्मु, विशाल भण्डारीको प्रहार गोलमा परिणतहुँदा विसो लामाको प्रहार दिप कार्कीले रोके भने सामेल सुनारको प्रहार साइड पोलमा लाग्दै बाहिरियो ।

 

यसैगरी, सल्हेशका लागि फागुराम थारू, सनिष श्रेष्ठ, निशकुमार श्रेष्ठ र दिप कार्कीको प्रहार गोलमा परिणत हुँदा रोहन कार्कीको प्रहार सातदोबाटोका गोलकिपर विशाल सुनारले रोकेका थिए । टाइब्रेकरमार्फत जित दिलाएका सल्हेशका गोलकिपर दिप कार्की प्लेयर अफ दी म्याच बन्दै नगद ७ हजारबराबरको अलैँची पाउन सफल भए ।

 

लाखे जात्रा सञ्चालन समितिले आयोजना गरेको गोल्डकपको आइतबार अन्तिम क्वाटरफाइनल खेलमा झापा ११ एफसीले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दैछ । भदौ १९ गते हुने फाइनल खेलको विजेताले नगद ७ लाख २ हजार ८३ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँ पाउने छ ।

 

टिकट खरिद गर्ने भाग्यशाली एक जना दर्शकले स्कुटी पाउने व्यवस्था मिलाइएको छ । सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ ।