झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित बिर्तामोडका एकजना कारोबारी युवा पक्राउ परेका छन् ।
हिजो दिउँसो ४ः१० बजे भद्रपुर ३ स्थित झोलुङ्गे पुल इलाकामा बिर्तामोड ९, लखीबारी बस्ने १९ वर्षीय जनक माझीलाई लागूऔषध (ब्राउनसुगर) सहित पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी बल महेशपुरबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार गोविन्दप्रसाद न्यौपानेको कमाण्डमा खटिएको ७ जनाको चेकप्वाइन्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्रुहरूलाई चेकजाँच गर्ने क्रममा माझी पक्राउ परेको बताइएको छ ।
शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा माझीको साथबाट १६ ग्राम ब्राउनसुगर, नेपाली नगद ७१० तथा १ थान नेपाली नागरिकता प्रमाणपत्र फेला परेको थियो ।
उनलाई ब्राउन सुगरसहित आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा बुझाइएको सशस्त्र प्रहरी बल झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मदनकुमार रसाईलीले जानकारी दिएका छन् ।