अन्तराष्ट्रिय

जापानमा मृत भेटिएकी भद्रपुरकी लक्ष्मी राजवंशीको शव नेपाल ल्याइँदै

By admin

September 08, 2026

झापा । जापानमा असामयिक निधन भएकी झापाको भद्रपुर नगरपालिका ७ निवासी लक्ष्मी राजवंशीको शव स्वदेश ल्याइने भएको छ।

 

गत अगस्ट १९ तारिखमा निधन भएकी राजवंशीको शव सेप्टेम्बर ११ तारिख अर्थात भदौ २६ गते नेपाल ल्याउने तय भएको हो। उनको पार्थिव शरीर धार्मिक तथा सांस्कृतिक संस्कारअनुसार अन्तिम संस्कारका लागि नेपाल ल्याउन लागिएको हो।

 

भद्रपुरका नगर प्रमुख गणेश पोखरेलका अनुसार राजवंशीको पार्थिव शरीर जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्समार्फत काठमाडौँ ल्याइनेछ।

 

राजवंशीको निधनको खबरले परिवार, आफन्त तथा भद्रपुरवासीलाई स्तब्ध बनाएको थियो । जापानमा रहँदा उनको निधन भएपछि शव नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको थियो । शव स्वदेश ल्याउने क्रममा आवश्यक कानुनी, प्रशासनिक तथा कूटनीतिक प्रक्रिया पूरा गर्न विभिन्न निकायबीच समन्वय गरिएको जनाइएको छ।

 

राजवंशीको निधनको कारण र जापानमा उनको अवस्थाबारे थप विवरण भने सम्बन्धित निकायबाट सार्वजनिक गरिएको छैन। राजवंशीको शव गत अगस्ट १९ तारिख बिहान फुकुओका सहरको नाका नदी किनारमा फेला परेको थियो ।

 

जापानी सञ्चारमाध्यमका अनुसार उनी फुकुओकामा अध्ययनरत विशेषज्ञ विद्यालय (सेन्मोन गाक्कोउ) की विद्यार्थी थिइन् । नाका नदीमा महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

 

प्रारम्भमा घटना दुर्घटना वा अन्य कारणबाट भएको हुनसक्ने कोणबाट अनुसन्धान गरिए पनि पछि प्रहरीले घटनालाई हत्या भएको निष्कर्ष निकालेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।