अन्तराष्ट्रिय

नेपाललाई एसीसी प्रिमियर कपको उपाधि, दोस्रोपटक एसिया कपमा

By admin

September 12, 2026

एजेन्सी । नेपालले युएईलाई ४४ रनले हराउँदै एसीसी प्रिमियर कपको उपाधि जितेको छ। नेपाल विजेता बन्दै अर्को वर्ष बंगलादेशमा हुने तालिका रहेको एसिया कपमा छनोट भएको हो ।

 

मलेसियाको क्वालालम्पुरस्थित वायुमस क्रिकेट ओभलमा नेपालले दिएको ३१४ रनको बलियो लक्ष्य पछाएको युएई ४९.१ ओभरमा २६९ रन बनाउँदै अल आउट भएको हो।

 

यो उपाधिसँगै नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको छ। टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन बनाएको थियो।

 

युएईका लागि राहुल चोपडाले सर्वाधिक १०० रनको शतकीय पारीसहित अविजित रहे। उनले १०५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। उनको शतक युएईका लागि जित दिलाउन भने काफी रहेन।

 

ओपनर ब्याटर तानीश सुरीले ४२ रन बनाउँदा कप्तान हरप्रित सिंहले ३३ रन बनाए। सोहीब खानले ५२ रन बनाउँदा खुजाइमा बिन तानभिरले १५ रन बनाएर क्याचआउट भए।‌

 

नेपालका लागि बलिङतर्फ करण केसीले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशीले २ लिँदा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी रोहित पौडेल,गुल्सन झा र वसिर अहमदले १र१ विकेट लिए।

 

त्यस अघि,पहिलो इनिङ्समा ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले शतकीय पारी खेले। उनले १०६ बलमा ८ चौका र ४ छक्का सहित १०२ रन बनाए।

 

पहिलो विकेटका लागि अर्का ओपनर अर्जुन कुमालसँग उनले ९७ रनको साझेदारी बनाउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। अर्जुन कुमाल ४३ रन बनाउँदै रन आउट भएका थिए।