अन्तराष्ट्रिय

ब्राउनसुगर सप्लाई गर्ने गिरोहसँग साँठगाँठ: गलगलिया थानाध्यक्ष निलम्बित

By admin

September 15, 2026

झापा । भद्रपुर नाकाबाट नेपालमा लागूऔषध (ब्राउनसुगर) सप्लाई गर्ने गिरोहसँग साँठगाँठ गरेको आरोपमा भारतको बिहारस्थित किशनगञ्ज जिल्लाको गलगलिया थानाका थानाध्यक्ष उपनिरीक्षक राकेश कुमार निलम्बित भएका छन् ।

 

किशनगञ्जका प्रहरी अधीक्षक सन्तोष कुमारले प्रारम्भिक अनुसन्धान प्रतिवेदनका आधारमा थानाध्यक्ष राकेश कुमारलाई तत्काल लागू हुने गरी निलम्बन गरेका हुन् । उनी दुई वर्षदेखि गलगलिया थानाको इञ्चार्जको रुपमा कार्यरत थिए ।

 

भारतको गलगलिया नाका नेपालतर्फ झापाको भद्रपुरसँग जोडिएको महत्वपूर्ण सीमावर्ती नाका हो । राकेश कुमारमाथि शंकास्पद आचरण, अनुशासनहीनता, कर्तव्य पालनामा लापरबाही, मनोमानी तथा वरिष्ठ प्रहरी अधिकारीको आदेश उल्लंघन गरेको आरोप लगाइएको छ।

 

किशनगञ्ज प्रहरीले लागूऔषध ओसारपसार तथा त्यससँग सम्बन्धित आपराधिक गतिविधिविरुद्ध अभियान तीव्र बनाइरहेका बेला थानाध्यक्ष कुमारको गतिविधि शंकास्पद देखिएको जनाइएको छ।

 

करिब तीन दिनअघि गलगलिया क्षेत्रमा लागूऔषधविरुद्ध गरिएको छापा कारबाहीका क्रममा उनको व्यवहार शंकास्पद देखिएपछि घटनाबारे अनुसन्धान अघि बढाइएको थियो। प्रहरीले गलगलियाको लकडी डिपोमा छापा मारेर तीन करोडभन्दा बढीको ब्राउनसुगर र पेस्तोलसहित दुई कारोबारीलाई पक्राउ गरेको थियो ।

 

घटनाबारे किशनगञ्जका उपविभागीय प्रहरी अधिकारी (एसडीपीओ) मार्फत प्रारम्भिक अनुसन्धान गरिएको थियो। एसडीपीओले बुझाएको प्रारम्भिक प्रतिवेदनका आधारमा राकेश कुमारलाई निलम्बन परेका हुन्। अनुसन्धानका क्रममा आरोप पुष्टि भएमा प्रचलित प्रहरी नियमअनुसार थप विभागीय कारबाही हुन सक्ने जनाइएको छ।