समाज

कोशी, बागमती र गण्डकीमा आजदेखि नै पानी पर्ने क्रम शुरु

By admin

September 23, 2026

झापा । कोशी, बागमती र गण्डकीमा आजदेखि नै पानी पर्नेक्रम शुरु भएको छ । देशका पूर्वी र मध्य क्षेत्रमा वर्षाको गतिविधि शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

मौसमविद् डेभिड ढकालका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित चितवन, रसुवा, मकवानपुर, गोरखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा हल्का वर्षा भइरहेको छ ।

 

मनसुनी वायुको प्रभाव कायमै रहेको तथा बङ्गालको खाडीमा विकसित प्रणालीको प्रभाव पनि देखिन थालेकाले वर्षाको गतिविधि थप बढ्न सक्ने उहाँको भनाइ छ । तर, अहिले वर्षा भैरहेका क्षेत्रमा लगातार पानी पर्ने छैन ।

 

भोलि बेलुकासम्म पानी पर्ने र रोकिने क्रम हुनेछ । त्यसपछि गतिविधि बिस्तारै बढ्दै जाने र पर्सि शुक्रबारदेखि आइतबार ११ गतेसम्म देशका धेरै ठाउँमा मुसलधारे तथा आरीघोप्टे वर्षा हुनेछ ।

 

उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र अहिले बङ्गालको खाडीको मध्य भाग आसपास रहेको छ । यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र बनेपछि पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने देखिन्छ ।

 

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत् देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ ।