झापा । झापाको बिर्तामोड नगरपालिका ५ मा एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत किशनगञ्ज जिल्ला कदमगाछी थाना पछाडकट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोडको अमृतभोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिपचन्द्र राय रहेका छन् ।
सोमबार राति १०ः३० बजे इलाम रोङ गाउँपालिका ३ घर भई हाल बिर्तामोड नगरपालिका ५ मा डेरा गरी बस्दै आएकी मगर थरकी २२ वर्षीया एक युवतीको कोठामा राय गएका थिए ।
मादक पदार्थ सेवन गरेका रायले पेट्रोलसमेत बोकेर युवतीको कोठामा छिरेका थिए । उनले तन्ना च्यातेर युवतीको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेका थिए ।
उक्त घटनाबारे प्रहरीलाई खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिएर रायलाई नियन्त्रणमा लिएको हो । घटनामा घाइते युवतीलाई उपचारका लागि मनमोहन अस्पताल बिर्तामोडमा लगि उपचार भइरहेको छ ।
घटनामा संलग्न रायलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आफूले युवतीलाई करिव ७० हजार रकम सापटी दिएको र सो रकम फिर्ता नदिएपछि आगो लगाउन खोजेको रायले प्रहरीलाई बताएका छन् ।