खेलकुद

बिर्तामाेडलाई राेक्दै मिलडाँडा भेट्रान्स फुटबलको फाइनलमा

By admin

October 08, 2026

अर्जुनधारा । आयोजक सालबारी-मिलडाँडा भेट्रान्स फुटबल क्लब झापाको अर्जुनधारा ११ मा आयोजित प्रथम सालबारी-मिलडाँडा भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

 

बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा उपाधिको दाबेदार टोली बिर्तामोड भेट्रान्सलाई २-१ गोलअन्तरले पराजित गर्दै आयोजकले उपाधि भिडन्त पक्का गरेको हो।

 

प्रतिस्पर्धात्मक खेलमा आयोजकका विनोद बान्तवाले ३५औँ र ४१औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए। ४१औँ मिनेटमा बान्तवाले गरेको चिप सट गोलरक्षकको हातमा टच हुँदै गोलमा परिणत भएको थियो।

 

बिर्तामोडका युगल किशोर राईले ४५औँ मिनेटमा गोल गर्दै अन्तर घटाए पनि त्यसपछि थप गोल हुन नसक्दा आयोजक २–१ ले विजयी भयो। खेलको प्लेयर अफ द म्याच आयोजक टोलीका विनोद बान्तवा घोषित भए। उनले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

 

फाइनलमा आयोजकले चारपाने युनाइटेड भेट्रान्स क्लबको सामना गर्नेछ। चारपानेले यसअघि झिलझिले भेट्रान्सलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

 

असोज २४ गते हुने फाइनलको विजेताले नगद ५१ हजारसहित ट्रफी तथा उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्नेछ। विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक समितिका संयोजक नन्दलाल खतिवडाले जानकारी दिए।

 

प्रतियोगितामा आयोजकसहित बौद्ध भेट्रान्स पाँचथर, मेची भेट्रान्स काँकडभिट्टा, ज्ञानेचोक भेट्रान्स, चन्द्रगढी भेट्रान्स, झिलझिले भेट्रान्स, बिर्तामोड भेट्रान्स र चारपाने युनाइटेड भेट्रान्सको सहभागिता रहेको थियो।