खेलकुद

आयोजकलाई मिलडाँडा भेट्रान्स फुटबलको उपाधि

By admin

October 10, 2026

झापा । अर्जुनधारामा आयोजित प्रथम सालबारी-मिलडाँडा पुरूष नकआउट भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि आयोजकले रक्षा गरेको छ ।

 

स्थानीय देउनिया खेलमैदानमा आज भएकाे फाइनल खेलमा चारपाने युनाइटेड भेट्रान्सलाई २-१ गोलअन्तरले हराउँदै आयोजक सालबारी-मिलडाँडा भेट्रान्स क्लबले उपाधि रक्षा गरेको हो । उपाधिसँगै आयोजकले नगद ५१ हजार रुपैयाँ प्राप्त गरेको छ ।

 

खेलको १९औँ मिनेटमा चारपानेले अग्रता लिएको थियो । चारपानेका सुवास आङथुपोले फ्रिकिकमार्फत सुन्दर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, आयोजकले ५१औँ मिनेटमा बराबरी गोल गर्यो । सर्वाधिक गोलकर्तासमेत रहेका आयोजकका खेम पोखरेलले कमब्याक गोल गरेका हुन् ।

 

खेलको अतिरिक्त समयमा आयोजकका प्रविण राई गोल गरेर आयोजकको जित सुनिश्चित गरे । फाइनल खेलको प्लेयर अफ द म्याच विजेता क्लबका दिपक श्रेष्ठ घोषित भए । उनले नगद ३ हजार रुपैयाँ पुरस्कार पाए ।

 

आयोजकले ५१ हजार १११ रुपैयाँ पुरस्कार पाउँदा चारपानेले ३१ हजार १११ मा चित्त बुझायो । खेलमा सर्वाधिक गोलकर्ता आयोजकका खेम पोखरेल, बेष्ट गोलकिपर आयोजकका किरण जवेगु, बेष्ट डिफेण्डर आयोजकका प्रकाश मेचे, बेष्ट मिडफिल्डर चारपानेका सुदिप श्रेष्ठ, बेष्ट कोच आयोजकका नविन चोङबाङ भए । उनीहरूले जनही ५-५ हजार रुपैयाँ पुरस्कार पाए ।

 

प्रतियोगिताभरिकै सर्वोत्कृष्ट खेलाडी आयोजकका प्रविण राई भए । उनले नगद ७ हजार ५०० रुपैयाँ पुरस्कार पाए । विजेता तथा उपविजेता टोलीलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनलगायतले पुरस्कार वितरण गरेका थिए ।

 

प्रतियोगितामा आयोजकसहित बौद्व भेट्रान्स पाँचथर, मेची भेट्रान्स काँकडभिट्टा, ज्ञानेचोक भेट्रान्स, चन्द्रगढी भेट्रान्स, झिलझिले भेट्रान्स, बिर्तामोड भेट्रान्स र चारपाने युनाइटेड भेट्रान्स कलबको सहभागिता रहेको थियो ।