ताप्लेजुङ । ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन (४० किलोग्राम)को ८४ हजारका दरले कारोबार भइरहेको छ ।
चालु सिजनको सुरुआतमा प्रतिमन ९६ हजारसम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमशः घटेको छ । एक साताअघि ८८ हजारका दरले कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर ८४ हजारमा कारोबार भइरहेको व्यवसायीले बताएका छन् ।
नयाँ उत्पादन आउन थालेसँगै मूल्य घट्न थालेको हो । सिजनको सुरुआती समयमा अलैँचीको मूल्य ९६ हजारमा कारोबार भएको थियो । अलैँची व्यवसायी बालमणि बरालका अनुसार अहिले ओसिलो क्षेत्रका बगानबाट उत्पादित अलैँची बजारमा आइरहेको छ ।
उच्च क्षेत्रमा भने अलैँची पाक्न अझै केही समय लाग्ने उनले बताए । ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँचीखेती हुँदै आएको छ । यहाँको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यमा हुने परिवर्तनले किसानको आम्दानीमा प्रभाव पार्ने गरेको छ ।