समाज

जुकेखाडी वनको साधारणसभामा विभिन्न व्यक्तित्वलाई नगदसहित सम्मान

By admin

October 15, 2026

खुदुनाबारी । झापाको अर्जुनधारा ३ मा रहेको जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औं वार्षिक साधारणसभा विभिन्न व्यक्तित्वलाई नगदसहित सम्मान गर्दै बिहीबार सम्पन्न भएको छ ।

 

समूहका अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा आयोजित साधारणसभाको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए । समूहका अध्यक्ष श्रेष्ठले गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन र आन्तरिक लेखा परीक्षण समितिका  सदस्य अर्जुन निरौलाले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

प्रस्तुत प्रतिवेदनमा समूहको चालु आर्थिक वर्ष २०८३/०८४को अनुमानित बजेट दुई करोड ५७ लाख १५ हजार तीन सय ४९ रुपैयाँ ७० पैसा उल्लेख गरिएको छ ।

 

सोही कार्यक्रममा समूहका पूर्व सहसचिवद्वय चन्द्रप्रसाद अधिकारी र मदनकुमार दनुवार, पूर्व कर्मचारीद्वय डिल्लीराम अधिकारी र रमेश राई नगदसहित सम्मान गरिएको छ ।

 

यसैगरी, विद्यार्थीद्वय अम्बिका गुरुङ र सुदर्शन कार्की, मौरीपालक कृषक मोतीखर भण्डारी, उत्कृष्ट संयोजक नरेन्द्रबहादुर दाहाल, तेकवान्दो खेलाडी प्रिञ्जल लिम्बू र स्मारिका ल्वागुनलाई जनही ५-५ हजार नगदसहित सम्मान गरिएको छ ।

 

अर्जुनधाराका फुटबल खेलाडी राजेश दाहाललाई नगद १० हजारसहित सम्मान गरिएको समूहका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनीहरुलाई प्रमुख अतिथि नगरप्रमुख गोम्देनलगायतले सम्मान गरेका थिए ।

 

त्यस्तै कार्यक्रममा समूहअन्र्तगत रहेको ३१ वटा टोल समितिबाट छनौट भएका विपन्न ३१ जना उपभोक्तालाई निःशुल्क ग्यास चुल्हासहितको एलपी ग्यास, विपन्न १२ जना उपभोक्तालाई खाट, एक सय जना ज्येष्ठ मातापितालाई ढाकाको टोपी, बर्को र लौरो वितरण गरिएको समूहका कार्यालय सचिव हरि खतिवडाले जानकारी दिए ।

 

समूहका उपाध्यक्ष लक्ष्मीराम शर्मा तिम्सिनाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव उर्मिला कटुवालले गरेकी थिइन् । सोही सभाले नयाँ नेतृत्य चयन गर्नका लागि निर्वाचन समिति तथा कैदले पर्यापर्यटन कार्ययोजना समिति गठन गर्ने बताइएको छ ।