शनिश्चरे । झापाको अर्जुनधारा ६ स्थित प्रगति टोलको एक गोठमा आगलागी हुँदा दुईवटा चौपाया जलेर मर्नुका साथै साढे चार लाखबराबरको क्षति भएको छ ।
बिहीबार बिहान करिब १०ः१० बजे प्रगति टोल बस्ने टिकाराम बिष्टको काठको बेरा र टिनको छाना भएको गाईगोठमा आगलागी भएको हो । गोठमा खोले पकाउने क्रममा अचानक सल्किएर आगलागी भएको जनाइएको छ ।
आगलागीबाट गोठमा रहेको १५ हजार मूल्यको एउटा बाख्रा र २५ हजार मूल्यको अर्को खसी जलेर मरेको हो । त्यस्तै एउटा गाई सामान्य घाइते भएको छ। दुईवटा गाई र दुईवटा बाछालाई उद्धार गरिएको थियो ।
त्यस्तै सो आगलागीबाट एक बिघा खेतको परालको कुन्यू पूर्णरूपमा जलेर नष्ट हुँदा जम्मा चार लाख पचास हजारबराबरको क्षति भएको अनुमान गरिएको छ। घटनाको जानकारी पाउनासाथ प्रहरी टोली, स्थानीयबासी र बिर्तामोड नगरपालिकाको दमकलको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।