खेलकुद

अर्जुनधारा ४ लाई यू-१७ फुटबलको उपाधि

By admin

October 16, 2026

खुदुनाबारी । झापाको अर्जुनधारामा आयोजित प्रथम यू-१७ वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि ४ नम्बर वडाले जितेको छ ।

 

अर्जुनधारा ३ खुदुनाबारीस्थित प्राकृतिक रंगशालामा आज भएको फाइनल खेलमा अर्जुनधारा ७ लाई १-० गोलअन्तरले पराजित गर्दै ४ नम्बर वडाले उपाधि उचालेको हो । ४ नम्बर वडाका लागि दिपिन तामाङले गरेको गोल नै निर्णायक बनेको थियो ।

 

यसअघि अन्तिम सेमिफाइनल खेलमा ६ र ९ नम्बर वडाबीचको खेल विवादस्पद बनेपछि दुवै टोलीलाई निष्काशित गर्दै आयोजकले १ र ४ नम्बर वडालाई प्रतिस्पर्धा गराएको थियो । जसमा टाइब्रेकरमा जित निकाल्दै ४ नम्बर वडा फाइनलमा प्रवेश गरेको हो । यसैगरी, ७ नम्बर वडाले ८ नम्बर वडालाई २-० गोलअन्तरले पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

 

फाइनल खेलको प्लेयर अफ दी म्याच ४ नम्बर वडाका गोलकर्ता दिपिन तामाङ भए । यसैगरी, बेस्ट मिडफिल्डरमा वडा नम्बर ४ कै दिवस तामाङ, बेस्ट डिफेन्स मनिष थापा, बेस्ट किपर अनिष चौधरी बन्दा ७ नम्बर वडाका कैलाश कार्की हाइ स्कोरर र सोवित हेमरम प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए ।

 

च्याम्पियन बनेको वडा नम्बर ४ ले नगद ५१ हजारसहित ट्रफी पायो भने उपविजेता ७ नम्बर वडाले ३१ हजारमा चित्त बुझायो । उनीहरुलाई अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, ३ नम्बर वडाध्यक्ष सीताराम भट्टराई, ४ वडाध्यक्ष अम्बरबहादुर कटुवाल, ७ नम्बर वडाध्यक्ष गोविन्द खतिवडा, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, आयोजक खुदुनाबारी परोपकार केन्द्रका अध्यक्ष लिलाबल्लभ खतिवडालगायतले पुरस्कार वितरण गरेका थिए । फाइनल खेलकाे उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गाेम्देनले गरेका थिए ।