काँकरभिट्टा । भारतका विभिन्न बाल संरक्षण गृहमा रहेका छ जना नेपाली बालबालिकालाई सुरक्षितरूपमा स्वदेश फर्काई परिवारसँग पुनर्मिलन गराइएको छ।
भारतको पश्चिम बंगाल सरकार, कोलकातास्थित नेपालको महावाणिज्यदूतावास र नव अभियान नेपालबीचको निरन्तर समन्वय तथा सहकार्यपछि उनीहरूको स्वदेश फिर्ती प्रक्रिया सफल भएको हो।
पुनर्मिलन गराइएका बालबालिकामा १६ वर्षीया पूजा दनुवार, १६ वर्षीया रीता मण्डल, १५ वषीया सीता लिम्बु,१४ वर्षीया कमल मुखिया, १६ वर्षीय विनोद माझी, १५ वषीया सन्दिप गुप्ता (नाम परिवर्तन) रहेका छन्।
विवरणअनुसार, सिराहाको हरिनगर क्षेत्रकी रीता करिब तीन महिनाअघि परिवारसँग बाबाधाम तीर्थयात्रामा जाने क्रममा भारतको उढिसाबाट हराएकी थिइन्। त्यसैगरी, इलामकी सीता घरबाट एक्लै भागेर भारत जाँदा हराएकी हुन् ।
मोरङ उर्लाबारीकी पूजा २०८० सालतिर भारतको सिलिगुडीस्थित सालबारीमा आफन्तको घरमा बसेर काम गर्दै पढिरहेको अवस्थामा हराएकी थिइन्। धनुषाको रघुनाथपुरका कमल केही महिनाअघि आफ्ना भिनाजुसँग भारतको कोलकाता घुम्न गएको समयमा हराएका थिए।
त्यस्तै, सर्लाहीको बलरा क्षेत्रका विनोद गत असार महिनामा भारतको पन्जाबमा धान रोप्ने काम सकेर सपरिवार घर फर्किने क्रममा अम्मृतसरमा हराएका थिए भने बाराको कलैयाका सन्दिप गाउँका दाजुहरुसग पछि लागेर तामिलनाडु काम गर्न जादा हराएका हुन्।
बालबालिकाको पुनर्मिलन प्रक्रियामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी निशेष चापागाई, महिला तथा बालबालिका शाखाकी प्रहरी नायव निरीक्षक मिलनकुमारी राई, कोलकातास्थित नेपालको महावाणिज्यदूतावासका कार्यालय सचिव सतीश थापा, नव अभियान नेपालका प्रतिनिधि तथा बालबालिकाका अभिभावकहरूको उपस्थिति रहेको थियो।
सम्बन्धित निकायबीचको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरी बालबालिकालाई अभिभावक तथा परिवारको जिम्मा लगाइएको नव अभियान नेपालका क्षेत्रीय संयोजक इन्द्रबहादुर बस्नेतले जानकारी दिए।