समाज

झापामा जङ्गली हात्तीको आक्रमणबाट बृद्धाको मृत्यु

By admin

October 20, 2026

झापा । मंगलबार एकाबिहानै जंगली हात्तीको आक्रमणबाट झापाको बाह्रदशीमा एकजना बृद्धाको मृत्यु भएको छ भने अर्का बृद्ध घाइते भएका छन् ।

 

बिहान ५ः३० बजेतिर बाह्रदशी गाउँपालिका–२ जनता बजारमा मर्निङ वाकमा निस्केकी स्थानीय ७० वर्षीया लजमा खातुनको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । घाइते बृद्धालाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ।

 

दुई वटाको संख्यामा रहेका हात्तीको आक्रमणबाट अर्का बृद्ध घाइते भएका छन् । बाह्रदशीकै चैतन्यबारीस्थित बिरिङ खोलामा हात्तीको आक्रमणबाट स्थानीय अन्दाजी ७३ वर्षीय झप्टु राजवंशी घाइते भएका हुन् । घाइते राजवंशीको स्पाइन एक्स अस्पताल बिर्तामोडमा उपचार भइरहेको जनाइएको छ ।