समाज

अर्जुनधारामा एक घर जलेर नष्ट, १३ लाखबराबरको क्षति

By admin

October 22, 2026

झापा । चाडबाडको बेला झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ स्थित बायो खोल्सीमा एक घर जलेर नष्ट भएको छ । स्थानीय निवासी प्रेमकुमारी चम्लागाईंको घर जलेर नष्ट भएको हो ।

 

दशैंको टीकाको दिन दिउँसो १ बजेतिर घटना भएको बताइएको छ । घरका सदस्यहरु नजिकैको मुल घरमा विजया दशमीकाे टीका लगाउन गएको बेला बिजुली सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

 

आगलागीमा परी टिन र काठले बनेको घर पूर्णरुपमा जलेको छ भने घरमा रहेको अन्नतपात, लत्ताकपडा, गरगहना र नगद जलेर करिब १३ लाख रुपैयाँबराबर क्षति भएको चम्लागाई परिवारले जनाएका छन् । शरीरमा रहेको एकसरो कपडामात्र बचेको चम्लागाई परिवार नजिकैको कुखुरा पाल्न बनाइएको खोरमा बस्दै आएका छन् ।

 

यसैबीच, पीडित परिवारलाई अर्जुनधारा का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले आवश्यक राहत सामग्री प्रदान गरेका छन् । ओढ्ने, ओछ्याउने, चामल, तेललगायत खाद्य सामग्री, भाँडावर्तन, लत्ताकपडा घरमै पुगेर उपलब्ध गराए । चाडबाडका बेला विपत्ति आएपछि सात जनाको चम्लागाईं परिवार समस्यामा परेका छन् ।

 

यस्तै, खुदुनाबारी रेडक्रसले बुधबार नै राहत सामग्री प्रदान गरेको थियो । सहयोगी मनहरुले सहयोग प्रदान गरिरहँदा अग्निपीडित प्रेमकुमारी भावविह्वल बनेकी थिइन् ।