समाज

शिवसताक्षीमा डिजेल ट्याङ्की पड्किएर आगलागी, २० लाखको क्षति

By admin

October 26, 2026

झापा । झापाको शिवसताक्षीमा जमिनमुनि राखेको डिजेल ट्याङ्की पड्किएर आगलागी भएको छ । आगलागीबाट करिब २० लाखबराबरको क्षति भएको जनाइएको छ ।

 

हिजो साँझ करिब ७ः३० बजे शिवसताक्षी १० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीमा जमिनमुनि राखेको लाईट डिजेल तेल ट्याङ्कीबाट प्रदेश १-०१-००१ क १८०० नम्बरको टिपरमा डिजेल लोड गर्ने क्रममा ट्याङ्की अचानक आफै पड्केर आगो लागेको हो ।

 

आगलागीबाट टिपरमा सामान्य क्षति पुगेको छ भने ट्याङ्कीमा भण्डारण गरिएको डिजेल पूर्णरूपमा जलेर नष्ट भएको छ । उक्त आगोको रापले टिपर चालक इलाम माङसेबुङ ३ बस्ने ३५ वर्षीय कोफियत राई घाइते भएका छन् । जमिनमुनि ट्याङ्कीमा अन्दाजी ९ हजार ५०० लिटर लाईट डिजेल स्टक राखिएको थियो ।

 

रातभरिको प्रयासपछि आज बिहान ५ः३५ बजे सो आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । प्रारम्भिक विवरण अनुसार आगलागीबाट २० लाखभन्दा बढीको क्षति भएको छ ।