खेलकुद

पोखरी युथ एकतप्पा गोल्डकपको फाइनलमा

By admin

November 01, 2026

एकतप्पा, इलाम । चौबन्दी एफसीको चुनौती टाइब्रेकरमा समाप्त पार्दै पोखरी युथ एफसी इलामको फाकफोकथुम ७ स्थित सिकारी भञ्ज्याङमा जारी चौथो एकतप्पा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

 

स्थानीय सिंहदेवी माविको खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा पोखरी युथले चौबन्दीलाई टाइब्रेकरमा ५-३ गोलले पराजित गर्दै उपाधिको दाबेदारी प्रस्तुत गरेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

 

चौबन्दीका विक्रम तामाङको प्रहार पोखरी युथका गोलरक्षक राजेश राईले रोकेपछि फाइनल यात्रा तय भएको हो । उनी खेलको प्लेयर अफ दी म्याच बन्दै नगद १ हजारसहित ट्रफी पाए ।

 

सोमबार पोखरी युथले योङ ब्वाइज एफसी उर्लाबारीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । दीपावलीको अवसरमा क्रिएटिभ सोसियल स्पोर्टिङ क्लब फाकफोकथुम ७ ले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले ७५ हजार पाउने छ ।