झापा । झापाको मेचीनगरमा दुईवटा कार एकापसमा जुध्दा दुईजना घाइते भएका छन् । आज साँझ ५ बजे मेचीनगर ६ टोकला चिया बगान अगाडि काँकरभिट्टाबाट धुलाबारीतर्फ दुईवटा कार दुर्घटना भएको हो ।
धुलाबारीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३१ च ४२८७ नम्बरको कार र बिपरीत दिशातर्फबाट जाँदै गरेको डब्लुबी ७४ एजेड २५६९ नम्बरको कार एकापसमा ठक्कर खाएका थिए । दुर्घटनामा भारतीय कार चालक दार्जीलिङका ४३ वर्षीय सुजित क्षेत्री र ५२ वर्षीय राजेश क्षेत्री घाइते भएका छन् ।
उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सोही कारमा सवार सोही ठाउँका ४५ वर्षीय किशोर शर्माको दाहिने खुट्टा र कम्मरमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ ।
तीनै जनालाई मनिषा मेडिकल काँकरभिट्टामा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । नेपाली कार चालक मोरङ मिक्लाजुङ ८ का २७ वर्षीय भेषराज दुलाल सकुशल रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको छ ।