अर्थ बजार

भद्रपुरबाट २५ लाख बढीका भारतीय फूल बरामद गरी नष्ट

By admin

November 09, 2026

भद्रपुर । झापाको भद्रपुरबाट अवैधरूपमा नेपाल भित्र्याइएको २५ लाख रुपैयाँभन्दा बढी मूल्यका भारतीय फूल सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।

 

भद्रपुर नगरपालिका ८ स्थित देवीबस्तीबाट आइतबार दिउँसो सशस्त्र प्रहरी बलले २५ लाख ६३ हजार ४०० रुपैयाँबराबरका सयपत्री र कमलका फूल बरामद गरेको हो।

 

विशेष सूचनाका आधारमा आइतबार दिउँसो करिब १२ बजे सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमाण्डमा खटिएको गस्ती टोलीले उक्त फूल बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार बरामद सामग्रीमा ११ हजार ३४२ थान सयपत्री फूलका माला र १२ बोरा कमलका फूल रहेका छन्। तीमध्ये सयपत्री मालाको मूल्य २२ लाख ६८ हजार ४०० रुपैयाँ र कमलको फूलको मूल्य २ लाख ९५ हजार रुपैयाँ रहेको छ।

 

बरामद गरिएका फूलहरू प्रतिनिधिहरूको उपस्थितिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाको कार्यालय परिसरमा खाल्डो खनी पुरेर नष्ट गरिएको जनाइएको छ। तिहार तथा छठजस्ता पर्वमा फूलको माग बढ्ने भएकाले भारतीय फूलको आयात र अवैध ओसारपसार हुने गरेको छ।