खेलकुद

अर्जुनधारा हाफ म्याराथनमा ट्राफिक व्यवस्थापनबारे छलफल

By admin

November 18, 2026

अर्जुनधारा । झापाको शनिश्चरेमा मंसिर ९ गते हुने अर्जुनधारा हाफ म्याराथनको पूर्व तयारीस्वरुप आज सुरक्षा निकायका प्रमुखहरुसँग आयोजकले आवश्यक छलफल गरेको छ ।

 

अर्जुनधारा जलेश्वरधामको परिसरमा इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सन्तोष पाठक, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा बिर्तामोडका प्रमुख सन्तोष राई, सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पका प्रमुख, प्रहरी चौकी शनिश्चरेका प्रमुखसँग आयोजकले ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्थापनलगायतका विषयमा छलफल गरेको हो ।

 

आयोजकका तर्फबाट म्याराथन संयोजक मिलन बस्नेत, सह संयोजक प्रशान्त भण्डारीले म्याराथन सञ्चालन गरिएको रुटका बारेमा जानकारी गराएका थिए भने सहभागी खेलाडीको सुरक्षासँगै ट्राफिक व्यवस्थापन कसरी गर्ने विषयमा छलफल भएको थियो ।

 

शनिश्चरे बजारबाट सालबारी झिल, खरबन्दी, कालिस्थान, धाइजन चोक, बुधबारे, जयपुर, झम्के चोक, नारायण चोकहुँदै मन्दिर परिसरमा रहेको पिपल चोकमा आएर म्याराथन समापन हुनेछ ।

 

महिला पुरुष म्याराथनका विजेताले जनही १-१ लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५१ हजार पाउने छ भने चौथोदेखि १०औँ स्थान सम्मका खेलाडीले जनही १०-१० हजार पाउने सह संयोजक प्रशान्त भण्डारीले जानकारी दिए ।

 

अर्जुनधारा जलेश्वरधामको संरक्षकत्व तथा अर्जुनधारा नगरपालिका र नगर खेलकुद विकास समितिको संयोजनमा महिला तथा पुरुष दुवैतर्फ खुला हाफ म्याराथन प्रतिस्पर्धा हुने भएको हो ।

 

‘लागुऔषध दुव्र्यसनी न्यूनीकरण तथा अर्जुनधारा जलेश्वरधामको प्रवद्र्धनका लागि युवाहरू’ भन्ने मुल नाराका साथ सन्तलाल वृजमोहन गट्टानी स्मृतिमा यो दौड प्रतियोगिता सञ्चालन गर्न लागिएको प्रतियोगिताका संयोजक मिलन बस्नेतले जानकारी दिए ।