झापा । बिर्तामोडस्थित होटलमा बसेर लागुऔषध ब्राउनसुगरको कारोबार गर्दै आएका इलामका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलामको रोङ गाउँपालिका १ घर भई हाल बिर्तामोड ५ स्थित देउराली होटलमा बस्दै आएका २३ वर्षीय रचित भट्टराई रहेका छन् । प्रहरीका अनुसार बुधबार साँझ ५ः४५ बजेतिर बिर्तामोड ५ गणपति रोडमा भट्टराईको साथबाट ४ ग्राम ४६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले शंका लागेर भट्टराईलाई चेकजाँच गरेको थियो । प्रहरीले उनको साथबाट २३ हजार ५०० रुपैयाँ नगद र प्र १-०१-०१२ प ५९०९ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको थियो ।
भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उनले आफू बस्दै आएको होटलको कोठामा समेत लागुऔषध लुकाएर राखेको खुलेको झापा प्रहरीका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले बताए ।
त्यसपछि प्रहरीले बिहीबार होटलको कोठामा खानतलासी गर्दा खाटमुनि लुकाएर राखेको थप ३ ग्राम ४९० मिलिग्राम ब्राउन सुगर बरामद भएको जानकारी बुढाथोकीले दिए ।