बिर्तामोड । झापामा १ लाख ९७ हजारभन्दा बढी मतदाताले भोट नहालेको तथ्यांक आएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएसँगै जिल्ला निर्वाचन कार्यालय झापाले उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
प्रतिशतका अधारमा ६७ दशमलव २७ मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ४ लाख ४६ हजार २ सय ५५ मत खसेको छ । जिल्लाको कुल मतदाता संख्या ६ लाख ६३ हजार ३ सय ११ रहेको छ ।
निर्वाचन क्षेत्र नं. १ मा ८७ हजार ३ सय ९६ (७२.६०), क्षेत्र नं. २ मा ८७ हजार ७ सय २३ (६५.४२), क्षेत्र नं. ३ मा ८९ हजार ६ सय ३७ (६८.२०) , क्षेत्र नं. ४ मा ७९ हजार ३ सय ४९ (६४.४४) र क्षेत्र नं. ५ मा १ लाख २ हजार १५० (६६.२०) प्रतिशत मत खसेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
स्थानीय तहको निर्वाचनको तुलनामा यस निर्वाचनमा मतदातामा उत्साह देखिएको थिएन । यसै कारण पनि झापामा मतदान गर्नेको संख्यामा कमी आएको अनुमान गरिएको छ । झापामा ५ निर्वाचन क्षेत्र रहेको छ ।
प्रायः मतदान स्थलमा मतदाताको उपस्थिति न्यून देखिएको थियो । व्यवस्थित मतदान स्थल भए पनि मतदाताको उपस्थित पातलो रहेका थियो । कुनै मतदान स्थलमा सुतली बम विष्फोटसमेत गराइएको थियो । तर, अप्रिय घटना भने भएन ।
यस्तै, केही मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारीको लापरवाहीका कारण पुनः मतदान गरिनुका साथै केही समय मतदान स्थगित गरिएको थियो । झापाकाे निर्वाचन क्षेत्र नम्बर २ मा देखिएकाे तस्वीरबाट पनि मतदातामा उत्साह कम देखिएकाे प्रष्ट हुन्छ । (हेर्नुहाेस्, फाेटाे फिचर)