विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना भाइरस संक्रमित एक पुरुषको बुधबार मृत्यु भएको छ ।

मोरङको जहदा गाउँपालिका-६ का ६० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान ४ बजेतिर मृत्यु भएको उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा। दीपक सिग्देलले बताए । उनलाई उपचारका लागि असोज ४ गते बिहान कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनलाई स्वास्थ्यमा समस्या थपिँदै गएपछि थप उपचारका लागि अस्पताल ल्याएको खुलेको सिग्देलको भनाइ छ ।

आठ दिनदेखि भेन्टिलेटरको माध्यमबाट उपचार जारी राखेर धेरै पटक सीटीआर गर्दै कृतिम श्वासप्रश्वास दिइए पनि संक्रमित पुरुषलाई बचाउन नसकिएको डा सिग्देलको भनाइ छ । उनका अनुसार एक सय १० किलो तौल भएका पुरुषलाई श्वासप्रश्वासमा धेरै समस्या थियो ।

कोशी कोभिड अस्पतालमा हालसम्म ज्यान गुमाएका संक्रमितमध्ये पछिल्लो पटक मृत्यु भएका पुरुषको तौल सबैभन्दा धेरै रहेको सिग्देलको भनाइ छ ।

उनका अनुसार मृतकमा उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या थियो । संक्रमण पुष्टि भइसकेपछि पछिल्लो समय श्वास फेर्न गाह्रो हुने समस्या पनि थपिएको उनको भनाइ छ । सिग्देलले अवस्था नाजुक बन्दै गएपछि संक्रमित पुरुषमा रेमडिसिभर औषधि पनि चलाइएको जनाए ।

हालसम्म प्रदेश १ का विभिन्न कोभिड अस्पतालमा उपचाररत ६८ जना संक्रमितको मृत्यु भइसकेको छ । ज्यान गुमाउनेमा १९ महिला र ४९ पुरुष छन् ।