झापा । जिल्लाको उत्तरी नगरपालिका अर्जुनधारामा मंगलबार साँझ एक किशोरी बलात्कृत भएकी छन् ।

शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी किशोरीलाई गढीस्थित विरिङ पुलबाट पछ्याउँदै गएका दुई युवाले टाङटिङ खोलाको किनारमा रहेको सानो जंगलमा पुगेर जबरजस्ती बलात्कार गरेको बताइएको छ । अर्जुनधारा १ र ४ मा पर्ने मदनपुरस्थित विरिङ जलाधार क्षेत्रमा धाकधम्की दिएर किशाेरीमाथि जबरजस्ती करणी गरिएकाे बताइएकाे छ ।

अर्जुनधारा ३ स्थित शिविर घर भएकी युवतीलाई बलत्कार गरेको आरोपमा शनिश्चरे प्रहरी चौकीले २ जनालाई पक्राउ गरेको छ । गस्तीमा रहेको टोलीले अर्जुनधारा ७ मा बस्दै आएका गौरादह नगरपालिका घर भएका २२ वर्षीय अशोक दर्जी र कमल गाउँपालिका घर भएका २४ वर्षीय विक्रम हास्दालाई पक्राउ गरेको हो । उनीहरु हेभ्भी सवारी चालक रहेको प्रहरीले जनाएको छ ।

टाङटिङ खोलाको पुलमा रुँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले किशाेरीलाई भेटेर सोधपुछ गर्दा घटना बाहिर आएको थियो । किशोरीको भनाइका आधारमा प्रहरीले बाटोमा फर्किँदै गरेको अवस्थामा आरोपित दुई युवालाई पक्राउ गरेको थियाे ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी मुकुन्द रिजालका अनुसार किशोरीको स्वास्थ्य परीक्षणकाे तयारी भइरहेकाे छ । यसअघि अर्जुनधाराकै शंकर हस्पिटलमा प्राथमिक उपचार गरिएकाे थियाे । पक्राउ परेका युवालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड राखिएको छ ।