
अर्जुनधारा / झापाको अर्जुनधारा नगरपालिकाले ४ नम्बर वडामा आइसोलेसन वार्ड स्थापना गरेको छ ।
स्वास्थ्य चौकी रहेको भवनमा नगरपालिकाको स्वास्थ्य शाखाले २५ बेडको आइसोलेशन वार्ड तयार गरेको हो ।
स्थानीय स्रोत, साधन र जनशक्तिले भ्याएसम्म आइसोलेसनलाई व्यवस्थित गर्ने प्रयास गरिएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जनाए ।
‘निर्देशिकाको मापदण्डअनुसार नै हामीले आइसोलेसनको व्यवस्था गरेका छौँ’, शाखा प्रमुख बस्नेतले भने, ‘एक संक्रमित, एक शौचालयदेखि स्वास्थ्य, सुरक्षाका सबै व्यवस्था हाम्रो आइसोलेसनमा छ ।’
सकेसम्म सबैलाई एक एक वटा शौचालय उपलब्ध गराउने उद्देश्यले शौचालय निर्माण भइरहेको छ भने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि छुट्टै कोठाको व्यवस्था गरिएको छ ।
आइसोलेशनका लागि नगरपालिकाले ८ जना स्वास्थ्यकर्मी करारमा नियुक्ति गर्नका लागि सूचना जारी गरिसकेको उनले बताए ।यो भवनमा यसअघि १२ बेडको क्वारेन्टाइन सञ्चालन गरिएको थियो ।
चैत ११ गते लकडाउन हुनासाथ भोलिपल्ट यसै भवनलाई माथिल्लो तलामा क्वारेन्टाइन सञ्चालन गरिएको थियो ।
हेर्नुहोस् भिडियो