झापा । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका झापा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भूजेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
अध्यक्ष भुजेल केही दिनदेखि अस्वस्थ भई ज्वरो आउने र घाँटी दुख्ने समस्या भएपछि बिर्तामोडको एक अस्पताल पुगेका थिए । अस्पतालमा एक्सरे गर्दा छातीको संक्रमण देखिएकाले आइतबार त्यहाँबाट नोबेल हस्पिटल रिफर गरिएको थियो ।
नोबेलमा उपचार पछि केहि सुधार भएको बताइए पनि मंगलबार उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बताए ।
गाउँपालिका अध्यक्ष भुजेलले आफूलाई कोरोना लागे पनि गाउँपालिकाबासीलाई सतर्क रहन अपिल गरेका छन् । उनले कोरोनालाई जितेर पुनः जनताको सेवामा फर्किने समेत बताएका छन् ।
अध्यक्ष भुजेलसँग सम्पर्कमा आएका र बुद्धशान्तिमा पिसिआर जाँच गरेर रिपोर्टको पर्खाइमा रहेका सबैलाई सुरक्षित तबरले होम क्वारेन्टाइनमा बस्न गाउँपालिकाले अनुरोध गरेको छ ।