झापा । झापाका १५ वटा स्थानीय तहमध्ये १३ वटा पालिकामा आज एकैदिन कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज झापाका ६८ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकामध्ये २० महिला र ४८ जना पुरुष छन् । सबैभन्दा बढी मेचीनगरमा १४ जना रहेका छन् भने बिर्तामोडमा १३ जना छन् । मेचीनगरका ४ महिला र १० पुरुष छन् । उनीहरु सबै १० नम्बर वडाका स्थानीय बासिन्दा हुन् ।
त्यस्तै, बिर्तामोडका संक्रमितमध्ये ३ महिला र १० जना पुरुष छन् । उनीहरु ५, ६, ७ र ८ नम्बर वडाका स्थानीय बासिन्दा हुन् । यसैगरी भद्रपुर नगरपालिकामा १२ जना संक्रमित थपिएका छन् । जसमा ४ महिला र ८ जना पुरुष छन् । उनीहरु ४, ५, ७, ८ र १० नम्बर वडाका रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यस्तै, बाह्रदशी गाउँपालिकामा एक महिलासहित ७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु ३ र ४ नम्बर वडाका स्थानीय बासिन्दा हुन् । यसैगरी, दमक नगरपालिकामा एक महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु पनि स्थानीय बासिन्दा हुन् ।
यसैगरी गौरादह नगरपालिकामा २ महिला र २ पुरुष, कचनकवल गाउँपालिकामा पनि २ महिला र २ पुरुष, कनकाई नपा, कमल र बुद्धशान्ति गाउँपालिकामा समान १ महिला र १ पुरुष गरी २ २ जनामा संक्रमण भएको छ ।
यस्तै, शिवसताक्षी नगरपालिका र झापा र हल्दिबारी गाउँपालिकाका एक एक जनामा पनि संक्रमण पुष्टि भएको फोकल पर्सन जीवन चौलागाइँले जानकारी दिए ।
उनका अनुसार झापामा हालसम्म एक हजार ५१४ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमा एक हजार २० जना संक्रमित निको भएर घर फर्किसकेका छन् । ४७१ जना सक्रिय संक्रमितको आइशोलेसनमा उपचार भइरहेको छ भने झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।