झापा । अर्जुनधारामा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अर्जुनधाराका दुई स्वास्थ्यकर्मीसहित चार जनामा संक्रमण भएको हो ।
संक्रमण पुष्टि भएकामध्ये एक जना ३ वर्षे बालिका पनि रहेकी छन् । यसअघि उनको बुवामा संक्रमण पुष्टि भएको थियो । तीन दिनअघि अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा गरिएको स्वाबको रिपोर्ट आएको हो ।
३८ जनाको स्वाब संकलन गरी प्रदेश कोभिड अस्पताल पठाइएको थियो । संक्रमित स्वास्थ्यकर्मी अर्जुनधाराको शनिश्चरे अस्पतालमा कार्यरत दुवै जना २८ र ५० वर्षीय पुरुष हुन् । उनीहरुलाई कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण पनि देखा परेको जनाइएको छ ।
यस्तै, अर्जुनधारा ५ का एक व्यक्तिको रिपोर्ट पुनः पोजेटिभ आएको छ । यसअघि नै पोजेटिभ भएका ५३ वर्षीय पुरुषको पुनः परीक्षण गराउँदा पनि रिपोर्ट पोजेटिभ आएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
शनिश्चरे अस्पतालमै कार्यररत दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना नआउञ्जेलसम्मका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय भएको नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

उनका अनुसार आज बिहान बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले ओपीडी सेवा बन्द गर्ने निर्णय गरे पनि २४ घण्टे इमरजेन्सी सेवा र प्रसुति सेवा भने खुला रहने भएको छ ।
यसैबीच, प्रत्येक महिनाको ६ गते हुने नियमित खोप शनिश्चरे अस्पतालको ठाउँमा आज शनिश्चरे माविमा सञ्चालन गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।