शनिश्चरे । अर्जुनधारा नगर क्षेत्रमा रहेका माध्यमिक विद्यालय तहका कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई खोप लगाइने भएको छ ।

नगरको खोप व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार नगरमा रहेका ७ वटा माविका ६५४ जना विद्यार्थीलाई जापानबाट आएको एस्ट्राजेनेका खोप लगाइने भएको हो । खोप भदौ १८ गते शुक्रबार लगाइने निर्णय भएको छ ।

नगर प्रमुख हरिकुमार रानाका अनुसार विद्यार्थीलाई परीक्षा प्रवेशपत्रका आधारमा नगरका २ स्थानमा खोप केन्द्र सञ्चालन गरी खोप लगाउने व्यवस्था मिलाइएको छ । जसमा खुदुनाबारीको जनता माविमा जनता मावि, न्यू होप र सिंहदेवी माविका विद्यार्थीलाई खोप केन्द्र निर्धारण गरिएको छ ।

यस्तै, शनिश्चरे माविमा शनिश्चरे, भानु मावि, लक्ष्मी मावि र रुपरत्न मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थीलाई खोप लगाउने निर्णय भएको छ ।

यसैगरी, गत फागुन महिनामा कोभिसिल्ड खोप लगाएका ६५ वर्षभन्दा माथिका उमेर समूहलाई २० र २१ गते दोस्रो डोजको खोप लगाइने भएको छ । उक्त उमेर समूहमा २ हजार ४६१ जना रहेका छन् ।

स्वास्थ्य शाखाका अनुसार भदौ २० गते वडा नम्बर १, ५, ६, १० र ११ मा खोप लगाइनेछ भने २० र २१ गते २ र ३, ४ र ७ तथा ८ र ९ नम्बर वडाका सेवाग्राहीलाई स्वास्थ्य केन्द्र र वडा कार्यालयमा खोपको व्यवस्था गरिएको छ । २२ गते चाहिँ छुट भएका नागरिकका लागि मात्र खोप लगाइने बताइएको छ ।