शनिश्चरे । अर्जुनधारा नगर क्षेत्रका विद्यालयमा कक्षा १२ को तयारी गरिरहेका ४६६ जना विद्यार्थीले शुक्रबार कोरोनाविरुद्धको खोप लगाएका छन् ।
अर्जुनधाराको २ वटा खोप केन्द्रबाट विद्यार्थीले जापानमा निर्मित एस्ट्राजेनेका खोप लगाएको नगरपालिकाले जनाएको छ । नगरको स्वास्थ्य शाखाका अनुसार शनिश्चरे मावि र जनता मावि खुदुनाबारीमा ७ वटा माविका विद्यार्थीका लागि खोप केन्द्र तोकिएको थियो ।
जसमा शनिश्चरे माविमा १३३ जना छात्रासहित २२४ जना र जनता माविमा ११९ जना छात्रासहित २४२ जना विद्यार्थीले खोप लगाएका हुन् । जनता माविमा ३ मावि र शनिश्चरे माविमा ४ माविका परीक्षार्थीका लागि खोप व्यवस्थापन गरिएको थियो ।
स्वास्थ्य शाखा प्रमुख केशव रिजालका अनुसार नगरमा ६५४ जना विद्यार्थीले कक्षा १२ को तयारी गरेका छन् । उनीहरुलाई प्रवेशपत्रका आधारमा खोपको व्यवस्था गरिएको हो ।
पहिलो चरणमा छुटेका विद्यार्थीका लागि अर्को निर्णय गरेर खोप लगाउने व्यवस्था मिलाइने पनि उनले जानकारी दिए ।
यसैबीच, आइतबार र सोमबार फागुन महिनामा कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्ष उमेरमाथिका समूहलाई वडा तथा स्वास्थ्य चौकीमा दोस्रो डोजको व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।