काठमाडौँ । कमेडी च्याम्पियन-२ को उपाधि भरतमणि पौडेलले जितेका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शोको शनिबार भएको फाइनलमा पौडेलले उपाधि जितेका हुन् ।
विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका पौडेलले उपाधि जितेका हुन् । पछिल्लो समय उनले पूर्व युवराज पारस शाहको अभिनय गरेर झन् चर्चित बनेका थिए ।
रियालिटी शो सुरु भएदेखि नै चर्चा कमाइरहेका पौडेलले अन्त्यमा उपाधि पनि आफ्नो पक्षमा ल्याउन सफल भए । ताप्लेजुङमा पौडेलले राजनीतिक व्यंग्यहरू गरेर उनले चर्चा कमाएका थिए ।
पेन्टोमाइम गरेर चर्चामा आएका बिक्की अग्रवाल पहिलो उपविजेता बने भने गोर्खाका सन्तोष थापा दोस्रो उपविजेता बने ।
भरतमणीले उपाधिसँगै २५ लाख र कार पुरस्कार पाएका छन् । पूर्व संचारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचरबाट दर्शकको नजरमा परेका उनको पूर्व युवराज पारस शाहको क्यारिकेचरलाई अत्यधिक रूचाइएको थियो । सेमिफाइनलको उक्त प्रस्तुतिपछि उनी भोटिङ बिना नै फाइनलमा पुगेका थिए । पूर्वमन्त्री योगेश भट्टराईसमेतले उनलाई भोट माग्दै आएका थिए।
पहिलो उपविजेता अग्रवाल भने सेमिफाइनलमा पेन्टोमाइम गरेर अत्यधिक चर्चामा आएका थिए। उनी भारत सिक्किमका हुन् । उनले पुरस्कारमा टिभिएस अपाचे बाइक पाए । त्यस्तै गोरखाका सन्तोषले टिभिएस स्कुटी पुरस्कार पाए ।
कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’ बाट प्रसारण हुँदै आएको कार्यक्रमका निर्णायकमा हास्य कलाकारहरू सन्तोष पन्त र मनोज गजुरेल, चलचित्र निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा थिए ।
कमेडी च्याम्पियनको गएको संस्करणमा हिमेश पन्त विजेता भएका थिए ।