झापा (एजेन्सी) । पाकिस्तानको बलोचिस्तानमा बुधबार राति गएको भूकम्पमा कम्तीमा २० जनाको मृत्यु भएको छ । त्यस्तै भूकम्पमा परी ३०० जनाभन्दा बढी घाइते भएको प्रादेशिक विपद् व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।

पाकिस्तानको नेसनल सिस्मिक मोनिटरिङ सेन्टरका अनुसार बुधबार राति १० बजेर १ मिनेट जाँदा हनाई जिल्लामा ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको गहिराइ १५ किलोमिटर रहेको मापन गरिएको छ । भूकम्पको झट्का क्वेटा, सिब्बी, पिसिन, मुस्लिम बाग, चमनलगायतका अन्य सहरमा पनि महसुस गरिएको डनले जनाएको छ ।

भूकम्पका कारण १०० वटाभन्दा बढी माटाका घरहरू भत्किएको र पक्की भवनहरूमा पनि क्षति पुगेको बताइएको छ । बलोचिस्तानका गृहमन्त्री मीर जियाउल्लाह लांगूले भूकम्प प्रभावित क्षेत्रमा आपत्कालीन सेवा पठाइएको बताएका छन् ।