झापा (एजेन्सी) । भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको जानकारी दिएको छ ।
रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको निधन भएको छ । रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् । यसअघि उनी भारतीय स्थल सेनाध्याक्ष रहेका थिए ।
उत्तराखण्डको गडवालमा सन् १९५८ मार्च १६ मा जन्मिएका रावत सन् १९७८ मा ११ गोर्खा राइफल्समा भर्ना भएका थिए । रावतले सन् २०२० जनवरीबाट भारतको चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारी सम्हालेका हुन् ।
यसअघि दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको र जनरल रावतको स्थिति गम्भीर रहेको न्युज एजेन्सी एएनआईलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यामहरुले जनाएका थिए ।
दुर्घटनामा १४ जना घाइते भएका थिए । तर, सञ्चारमाध्यमले १३ जनाको निधन भइसकेको जनाएको छ भने अन्य १ जना घाइतेको बारेमा केही जानकारी सम्बन्धित निकायले दिएको छैन । उनी को हुन् भन्ने सर्वत्र चासो बढेको छ ।

दुर्घटनामा अधिकांश शवहरु जलेको जनाइएको थियो । रक्षामन्त्री राजनाथ सिंहले बिहीबार घटनाबारे संसद्लाई जानकारी दिने सञ्चारमाध्यामहरुले जनाएका छन् । वायु सेनाले घटनाको कारण पत्ता लगाउन जाँचको आदेश दिएको छ । इकान्तिपुरबाट