बिर्तामोड । नेपालको चर्चित रियालिटी शो नेपाल आइडल सिजन ४ को टप १२ मा पर्न सफल झापा बिर्तामोडका आदेश पौडेललाई भोटिङ गर्न सपोर्ट ग्रुपले अभियान सञ्चालन गर्ने भएको छ ।
एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपाल आइडलबाट बिर्तामोडका आदेश टप १२ मा परेसँगै भोटिङ राउण्डमा प्रवेश गरेका हुन् । सपोर्ट ग्रुपले झापाको बिर्तामोडमा बिहीबार पत्रकार भेटघाट गर्दै पौडेललाई सपोर्ट गर्ने जनाएको हो । २४ वर्षीय आदेशले आफ्नो कर्मथलो काठमाडौँलाई बनाए पनि उनको बाल्यकाल बिर्तामोडमै बिताएको पत्रकार भेटघाटका क्रममा जनाइयो ।
आदेशकी आमा पनि पेशाले गायिका नै भएको बताउँदै सपोर्ट ग्रुपकी सोनु पुडासैनीले आमाले नै उनको प्रतिभालाई तिखारेको बताइन् । विदेशमै आदेशको बुबाको मृत्यु भएपछि उनको पारिवारिक जिम्मेवारी थपिएसँगै उनी काठमाडौंका रेष्टुरेन्ट र पपहरुमा परिवारको जीविकोपार्जनका लागि गायनलाई अगाडि बढाउँदै गरेको पनि पुडासैनीले बताइन् ।
गायन प्रतिभाका धनी आदेशलाई विजेता बनाउन अब भोटको खाँचो रहेकाले अभियानकै रुपमा लागिएको उनको भनाइ छ । आदेशलाई भोट गर्नका लागि नेपालमा मात्र नभएर विदेशमा पनि साथीहरु सक्रिय रहेको उनको भनाइ छ ।
हजारौ प्रतिस्पर्धीमध्ये १२६ मा छानिएका उनी पछिल्लोपटक टप ३० मा परेका थिए । टप ३० मध्येबाट प्रस्तुततिका आधारमा टप १२ मा पर्न सफल भएका उनको शुक्रबारबाटै भोटिङ राउण्ड सुरु भएको छ ।
कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं ३ का अध्यक्ष भोजराज सिटौलाले आदेशको प्रतिभाको प्रशंसा गर्दै उनलाई सहयोग गर्ने बताए । त्यस्तै बिर्तामोड ८ का वडा अध्यक्ष अजय कार्कीले आदेशको भोटका लागि कार्यालयमार्फत २० हजार र ब्यक्तिगततर्फबाट १० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।