बिर्तामोड । आसन्न स्थानीय तह निर्वाचनका लागि झापाको बिर्तामोड नगरपालिकामा १० जनाले नगर प्रमुख पदका लागि मनोनयन दर्ता गराएका छन् । उपप्रमुख पदका लागि ९ जनाले र १० वटा वडाका लागि ५२ जनाले वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

प्रमुख पदमा एक जना महिला र नौ जना पुरुषले मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिने पवित्रादेवी महतरा नगरप्रमुख पदको एकमात्र महिला उम्मेदवार हुन् भने बाँकी सबै पुरुष उम्मेदवार छन् । नगरप्रमुख पदमा नगेन्द्र अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने अन्य उम्मेदवार राजनीतिक दलको रहेको निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेले जानकारी दिए ।

 

त्यस्तै उपप्रमुखमा ६ जना महिलासहित ९ जनाको उम्मेदवारी दर्ता भएको छ । बिर्तामोड नगरपालिकाको १० वटा वडाको वडाध्यक्ष पदमा २ महिलासहित ५२ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत काफ्लेले जानकारी दिए ।

 

वडाध्यक्षमा महिला उम्मेदवारको रुपमा वडा नम्बर ४ मा नेकपा (माले) को तर्फबाट सुमित्रा श्रेष्ठ र वडा नम्बर ५ मा स्वतन्त्र उम्मेदवार आरती नेवार श्रेष्ठ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

 

सबैभन्दा कान्छो उम्मेदवारको रुपमा मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट वडा नम्बर ९ का वडाध्यक्ष पदका उम्मेदवार दिपेन राई रहेका छन् । उनी ३० बर्षका हुन् भने नेकपा एमालेको तर्फबाट वडा नम्बर १० मा उम्मेदवार बनेका रिमानध्वज सुब्बा सबैभन्दा ज्येष्ठ वडाध्यक्ष पदका उम्मेदवार हुन । उनी ६८ बर्षको रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।