झापा । सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी नेपाली चेली जानकी थापा मगरलाई बिएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उद्धार गरेका छन् । युएईमा गम्भीर घाइते अवस्थाकी जानकीलाई दुर्गा प्रसाईले आफ्नो खर्चमा उद्दार गरेका हुन् ।

 

युएईमा दुई महिनाअघि सवारी दुर्घटनामा परेकी थापा मगरको उपचारका लागि लागेको सम्पूर्ण खर्च नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका प्रसाईले व्यहोरेका छन् । कैलालीकी जानकी भोलि बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आइपुग्ने प्रसाईको सचिवालयले जनाएको छ ।

 

रोजगारीको सिलसिलामा युएई पुगेकी जानकी दुर्घटनामा घाइते भई कोमा अवस्थामा अलपत्र रहेको जानकारी पाएपछि प्रसाईंले मानवताको आधारमा नेपाल फर्काउन लागेको बिएन्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । उनका अनुसार पीडित जानकीलाई परिवारसँग मिलन गराउने र थप उपचारका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रसाईले बताएका छन् ।

 

परिवार पाल्नकै लागि विदेश गएर घाइते तथा अङ्गभङ्ग भई नेपाल फर्कन लागेकी जानकीलाई विगत भुलेर बाँकी जीवन जिउनका लागि आवश्यक सहयोग,सान्त्वना र उत्साह थप्नु सबैको दायित्व भएको जनाउँदै उक्त पारिवारिक मिलन कार्यमा उपस्थित भई यस अभियानमा साथ सहयोग राखिदिन सम्पूर्ण सञ्चारकर्मीलाई प्रसाईले अनुरोध गरेका छन् ।

 

जनसम्पर्क अधिकारी प्रमिस गिरीले सामुदायिक उत्तरदायित्वअन्तर्गत प्रसाईले बिगतमा धेरै बिरामीहरुलाई सहयोग गरेको र यसै सिलसिलामा विदेशमा पीडित नेपालीको दुःखमा सहजीकरण गरेको जानकारी दिए । गिरीका अनुसार बिरामीलाई अत्याधुनिक ह्वील चेयर र मेडिकल टिमसहितको टोलीले नेपाल एयरलाइन्सको उडानबाट नेपाल ल्ययाइनेछ ।

 

पीडितका अभिभावकले आफ्नी छोरीलाई नेपाल फर्काउन महत्वपूर्ण सहयोग गर्ने मनकारी व्यक्तित्व दुर्गा प्रसाईप्रति नेपाल सरकारले गर्न नसकेको काम गरिदिएकोमा आभार पनि व्यक्त गरेका छन् ।